नियम २०
बन पैदावार सङ्कलन गर्ने अवधि
(१) राष्ट्रिय वनक्षेत्रबाट काठ, दाउरा सङ्कलन गर्ने अवधि प्रत्येक वर्ष असोज महिनाको एक गतेदेखि जेठ मसान्तसम्म हुनेछ ।

(२) डिभिजनल वन अधिकृतले राष्ट्रिय वनक्षेत्रबाट असोज एक गतेदेखि फागुन मसान्तसम्म रुख छपान तथा कटान गरिसक्ने गरी म्याद निर्धारण गर्नु पर्नेछ।

(३) उपनियम (२) बमोजिम कटान भएका रुखबाट प्राप्त हुन आउने काठ, दाउराको सङ्कलन तथा घाटगद्दी वैशाख मसान्त सम्ममा गरिसक्नु पर्नेछ। (४) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विपद्मा परेका व्यक्तिलाई जुनसुकै समयमा बनक्षेत्रबाट काठ, दाउरा सङ्कलन गरी उपलब्ध गराउन सकिनेछ ।

(५) उपनियम (२) र (३) मा उल्लिखित अवधिभित्र रुख कटान गरी काठ, दाउरा सङ्कलन तथा घाटगद्दी गर्न नसकिएको उचित र पर्याप्त कारण भएमा सो कार्यको लागि प्रदेश वन निर्देशकको सहमतिमा डिभिजनल वन अधिकृतले बढीमा एक महिना अवधि थप गर्न सक्नेछ। साथै त्यस्तो काठ, दाउरा बनक्षेत्रबाट बाहिर निकाली घाटगद्दी गर्नको लागि समेत डिभिजनल वन अधिकृतले बढीमा/एक महिनाको अवधि थप गर्न सक्नेछ।

(६) उपनियम (५) मा उल्लिखित अवधिभित्र समेत रुख कटान गरी काठ, दाउरा सङ्कलन हुन नसकेमा डिभिजनल वन अधिकृतले प्रदेश वन निर्देशकको सहमति लिई कटान गर्न बाँकी रुखको छपान -रद्द गर्नु पर्नेछ।

(७) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा ४२ बमोजिम प्रयोग गर्न दिइएको राष्ट्रिय वनक्षेत्रको हकमा डिभिजनल वन अधिकृतले प्रदेश वन निर्देशकको सहमतिमा वनक्षेत्रको पुनरुत्पादन र अन्य रुख बिरुवाको हानि नोक्सानी हुन नदिने पर्याप्त व्यवस्था मिलाई वर्षभरी नै रुख कटान गरी काठ, दाउरा बाहिर निकाल्ने अनुमति दिन सक्नेछ।